बेपत्ताका परिवार भन्छन्, ‘खोइ न्याय ?’
‘माओवादी नेताहरूलाई मेरी छोरी खोइ भनेर सोधिरहन्छु । सबैले राज्यसँग माग्नुहोस् हामीलाई थाहा छैन भन्छन् । राज्यसँग सोध्यो सधैं खोज्ने पहल गरौंला भन्ने जवाफ आउँछ,’ ७६ वर्षीय ऋषिराम खडकाले भने, ‘हामीले न्याय कहाँ गएर पाउने ? छोरी जिउँदै छन् कि मरिसकिन्, अत्तोपत्तो छैन ।’
द्वन्द्वका बेला बेपत्ता वाँगीकी मीना खडका र मरेङका बाबुराम बञ्जाडेसहित १३ जनाको परिवारमा बेखबर सदस्यका लागि सधैं पीडा छ । उनीहरूलाई जब कुनै सार्वजनिक कार्यक्रममा सहभागी गराइन्छ, आफ्ना पीडा पोख्छन्, सुन्नेहरू निरुत्तर हुन्छन् ।
२०६० सालमा घरबाट हिँडेकी मीना हालसम्म फर्केकी छैनन् । १७ वर्षको उमेरमा कक्षा ९ पढै गर्दा घरबाटै माओवादीले लगेका थिए । बाबु ऋषिराम ११ वर्षदेखि छोरीको तस्बिर हेरेर बसेका छन् । ‘गाउँमा कसैका छोरीले ए बा भनेर बोलाए मीना आइन् कि भन्ने आस लाग्छ,’ उनले भने । छोरीको पत्तो नलागेसम्म दाह्री र कपाल नकाट्ने अठोट लिएका छन् । आर्थिक अवस्था कमजोर भएकाले उनका छोरा कक्षा ८ पढै गर्दा नोकरी गर्न भारततिर गएका छन् ।
बञ्जाडेकी आमा इन्द्रकला पनि छोराको चिन्ताले सिकिस्त छिन् । उनका छोरा ०५८ फागुनमा रूपन्देहीबाट हराएका थिए । उनी हराएको भन्दै ०६४ मा जिल्ला प्रशासनमा खोजिदिन परिवारले आग्रह गरे । छोराको चिन्ता गर्दागर्दै ०७० कात्तिकमा बाबु नारायणप्रसादको निधन भयो । ‘राज्य र माओवादीसँग सोधखोज गर्दा थाहा नै पाउन सकिएन,’ इन्द्रकलाले भनिन्, ‘गरिब दुःखीको कुरा कसैले पनि सुन्दो रहेनछ । हामीले न्याय पाएनौं ।’
सरकार र स्थानीय शान्ति समितिले केही गर्न नसकेको गुनासो द्वन्द्वका बेला बेपत्ता भएकाको परिवारको छ । बेपत्ता १३ जनाका परिवारले समितिमा निवेदन दिएका छन् । ‘अहिलेसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन,’ समिति सदस्य विष्णु मुस्कानले भने ।
Leave a Reply