एमएनटीभिले कोरिदिएको टीकाको भाग्य, मलेसियाबाट फर्केर अष्ट्रेलियामा कन्सर्ट

एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित हल अफ फेम–२ को विजेता ईलामका टीका मगर यतिबेला जिन्दगीकै महत्वपूर्ण समयमा छन् । फाईनल प्रतिस्पर्धाको केही दिन अघि मात्र उनको विवाह भयो । विवाह गर्नकै लागि मलेसियाबाट फर्किएका उनले एकैपटक जीवनमा दुईवटा खुशी प्राप्त गरे । आफ्नो गायन यात्राको महत्वपूर्ण खुड्किलो पार गर्दै हल अफ फेमको विजेता बने भने जीवनको नयाँ मोडमा प्रवेश गर्दै विवाह बन्धनमा बाँधिए । अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेमको लागि उनले मलेसियाबाट नै अडिसन क्लीप पठाएका थिए । तर, उनी नेपाल आइपुगेर स्टुडियोमा नै फाईनल प्रतिस्पर्धाका लागि आफुलाई निखार्न सफल भए । उनको साथमा ललितपुरका पूर्ण विक र काठमाडौँ विजय सुनार टप ३ मा पुगेका थिए । रोजगारीका लागि मलेसिया गएका इलामका टीका मगरका लागि कोरोना भाइरसको महामारी धेरै अर्थमा दुःखद् रह्यो । तर, सांगितिक यात्रामा भने कोरोना महामारी र लकडाउन उनका लागि बरदान सावित भयो । टीका मगर यो सफलतालाई ठूलो उपलब्धी मान्छन् । यस प्रतियोगिताको उपाधीले उनको गायन यात्रामा विशेष महत्व राख्छ । किनकि, उनले विजेता भएसँगै एक लाख नगद, गीत रेकर्ड र म्युजिक भिडियोको निर्माणसहित ५ लाख बराबरको प्याकेज प्राप्त गरेका छन् । साथै उनी अष्ट्रेलियामा आयोजना हुने कन्सर्टमा समेत सहभागी हुन पाउनेछन् । मलेसियामा उनले गर्दै गरेको रोजगारी गुम्यो । कडा लकडाउनको अवस्थामा कोठामा बसेर फेसबुक चलाउने भन्दा अरू उपाय रहेन । संगीतप्रति रूची राख्ने टीकालाई फेसबुकमा देखा फरेको अनलाइन गायन प्रतियोगिताको पोष्टले आकर्षित गर्यो । अनलाइन भएपछि कतै जानु नपर्ने, लकडाउनमा उराठ भुल्न पनि सहज हुने बाटो देखेर उनले स्वर सम्राट नारायण गोपालको ’तिमिलाई म के भनूँ’ गीत रेकर्ड गरेर पठाए । केही दिनमा नै उनलाई सुखद् समाचार आयो, ’बधाई छ, तपाईको अडियो क्लिप अन्तिम ५० मा पर्न सफल भयो ।’ काम गुमाएपछि जुलाइ महिनामा उनी नेपाल फर्किए । परिवारसँग भेट हुनु र हफ अफ फेममा सांगीतिक यात्रा सुरू हुनु उनका लागि दुबै खुसीका कारक बने । उनको गायकीको कदर भयो, उनी अन्तिम २७ मा स्थान बनाउन सफल भए । अन्तिम २७ बाट पनि उनको गायन अन्तिम ९ अर्थात् टप ९ जनासम्म लाने खालको साबित भयो । अन्तिम ९ मा पनि राम्रो प्रस्तुति दिएसँगै उनी फाइनलको यात्रा बनाउन सफल भएका छन् । राजेश पायल राईको ’निष्ठुरीलाई माया गरी’ बोलको गीतले अन्ततः टीकालाई हल अफ फेमको फाइनसम्म पुर्यायो । उपाधीबारे उनी भन्छन्, ’मेरो प्रतिभाको कदर गर्दै यहाँसम्म आइपुग्ने अवसर दिनु भएको छ । आयोजक सबैजना धन्यवादको पात्र हुनुहुन्छ । अझ बढी म निर्णायकहरुलाई सम्झन चाहन्छु ।’

Leave a Reply