अष्ट्रेलियाबाट नेपाल जान चाहनेका लागी खुसीको खबर, तेस्रोपटक आउने जहाजले नेपाली लैजाने

मिलन दाहाल/ एडिलेड- नेपालबाट अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिक लिएर तेस्रोपटक अष्ट्रेलिया अाउन लागेको नेपाली वायुसेवा निगमको जहाजमा नेपाली फर्कन पाउने भएका छन । अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले २९ मे मा एक विज्ञाप्ति जारी गर्दै यस्तो बताएको हो । नेपालबाट अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिक तथा अष्ट्रेलियाका स्थायी बासिन्दा लिएर तेस्रोपटक अष्ट्रेलिया आहन लागेको नेपाली विमान फर्कदा नेपाली लैजान लागिएको छ । यसअधि २ अप्रिल र ७ मे मा गरि दुइपटक अष्ट्रेलिया आएको नेपाली  विमान फर्कदा नेपाली फिर्ता नलगिएपछी अष्ट्रेलियामा रहेका नेपाली रुष्ट बनेका थिए ।  नेपाल फर्कन चाहने नेपाली नागरिकले आफ्नो खर्चभने आफैले ब्योहोर्नु पर्नेछ भने नेपालमा पुगेपछी १४ दिन क्वारेन्टिनमा समेत बस्नुपर्नेछ ।

यसका अलावा नेपाली नागरिकले नेपाल पुगेपछी देहायका शर्तहरु पालना गर्नुपर्ने छ ।हवाई उडान खर्च, होटल क्वारेन्टिन खर्च, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्मको यातायात खर्चलगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ । त्यसरी लाग्ने खर्चको विवरण पछि उपलब्ध गराइने छ । स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नुअगाडि कोभिड-१९ सङ्क्रमण नभएको स्वास्थ्य परिक्षण (पि.सी.आर.) रिपोर्ट दूतावासमा पेश गर्नुका साथै आफ्नो साथमा पनि राख्नु पर्नेछ ।विदेशबाट जाने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ र निजको ज्वरो मापन गरी एकसय दशमलव चार डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आएकालाई सोझै आइसोलेसन कक्षमा र अन्यलाई होल्डिङ सेन्टरमा लगिने छ । नेपाल भित्रिएका प्रत्येक व्यक्तिले आफ्नो मोबाइलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य एप” डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिको नियमितरूपमा स्वास्थ्य विवरण अध्यावधिक गर्नु पर्नेछ। विमानस्थलमा पुगेपश्चात् प्रत्येक यात्रुलाई काडमाण्डौको चक्रपथ आसपासमा रहेका होल्डिङ सेन्टरमा लगी आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनस्थलमा ट्रान्स्फर गरिने छ । नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी अन्य मापदण्ड पालना गर्नु पर्नेछ ।

क्यानवेरामा रहेको नेपाली दुतावासका अनुसार नेपाल फर्कन चाहने नेपाली नागरिकले यो लिङ्कमा रहेको फारम २  जुन सम्ममा भर्नुपर्नेछ । दुतावासले हालसम्म हवाइटिकटको शूल्क निर्धारण गरेको छैन । नेपाल फर्कन चाहने आवेदकहरु बढी भएको खण्डमा प्राथमिकताका आधारमा नेपालीहरु फर्काइने दूतावासले बताएको छ । 

Advertisements

Leave a Reply