नेपाली ध्वजावाहक दोस्रो पटक अष्ट्रेलिया आउँदै:नेपाली नागरिकलाई हर्ष न विस्मात

अष्ट्रेलियाका नागरिक तथा स्थायी बासिन्दाहरुलाई लिएर नेपाली ध्वजाबाहक विमान दोस्रो पटक अष्ट्रेलिया आउन लागेको छ । नेपाल वायुसेवा निगमको जहाज प्रयोग गरि अष्ट्रेलियाले दोस्रो पटक आफ्ना नागरिक तथा स्थायी बासिन्दाहरुलाई अष्ट्रेलिया ल्याउन लागेको हो । सबैकुरा मिलेको खण्डमा मे महिनाको पहिलो साता नेपाल वायुसेवाको जहाज दोस्रो पटक अष्ट्रेलिया आउने छ । यसअघि २ अप्रिलमा समेत २४० जना अष्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दाहरु लिएर नेपाली ध्वजा बाहक नेपाल वायुसेवा निगमको जहाजले अष्ट्रेलियाको ऐतिहासिक उडान भरेको थियो ।

तर नेतामात्रै पोस्ने नेपालको सरकारी नीतिका कारण दोस्रो पटक नेपाली जहाज अष्ट्रेलिया आउँदा समेत अष्ट्रेलियामा फसेका नेपाली लैजाने नेपालको कुनै तयारी छैन । अष्ट्रेलियामा धेरै नेपाली नागरिक कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण समस्यामा रहेको पटक पटक सञ्चारमा आउँदा समेत सरकारले त्यतातिर चासो दिएको छैन ।

कोरोना नियन्त्रण गर्न अष्ट्रेलियन सरकारले लागु गरेको लक डाउनका कारण समस्यामा परेका र भिजिटर भिसामा आएका नेपाल फर्कन चाहने धेरै नेपाली अष्ट्रेलियामा बिचल्लीमा परेका छन । धेरैले रोजगारी गुमाएका छन । भर्खरै आएका नेपाली विद्यार्थीहरूको नेपालबाट ल्याएको पैसा सकिएको र काम पाउने अवस्था नभएका कारण चिन्तित बनेका छन । एनआरएनए लगायतका संस्थाहरुले समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेको भएपनि समस्यामा रहेका नेपालीहरूको संख्या बढी भएका कारण लकडाउन लम्बिदै गएमा थप समस्या उत्पन्न हुने अवस्था रहेको छ ।

यता अष्ट्रेलियामा रहेको नेपाली दुतावाससँग नेपाल अष्ट्रेलिया समाचारले प्रतिक्रिया माग्दा दुतावासले पहल गरिरहेको तर आइतबार अपह्रान्नसम्म पनि नेपालको परराष्ट्र मन्त्रालयबाट जवाफ नआएको र जहाजमा नेपाली नागरिकलाई नेपाल फर्काउन सकिने सम्भावना न्यून रहेको प्रतिक्रिया दिएको छ ।

Advertisements

Leave a Reply