डढेलोको घाउमा मल्हम लगाँउदै साउथ अष्ट्रेलियाको नेपाली समुदाय

सुन्दर भबिष्यको सपना बोकेर अष्ट्रेलिया छिरेका नेपालीहरुले अष्ट्रेलियाबाट धेरै पाएका छन । विश्व स्तरको पढाइका अतिरिक्त गुणस्तरीय जीवन, अत्मसम्मान, कामप्रतिको आस्था इत्यादि केही उदाहरणमात्र हुन । अष्ट्रेलियामा आफ्नो अवस्था बलियो हुँदैगर्दा नेपालीहरुले लिन मात्र जानेका छैनन्, आफुले सबैथोक पाएको समुदायलाई परेको बेलामा सहयोग गर्न पनि जानेका छन भन्ने कुरापनि प्रमाणित गर्दैछन ।

केही हप्ता अगाडी न्यू साउथ वेल्समा डढेलो लाग्दा नेपालीहरुले दुइ दिनमा नै २० हजार अष्ट्रेलियन डलर संकलन गरेर ‘रुरल फायर सर्भिस’ लाई कर्मचारीको तालिम तथा नयाँ उपकरण किन्न सहयोग गरे । साउथ अष्ट्रेलियाको केही भागमा गत हप्ता लागेको डढेलो प्रभावितहरुलाई सहयोग गर्न साउथ अष्ट्रेलियामा पनि नेपाली तातेका छन । 

साउथ अष्ट्रेलियाको ‘कडल क्रिक’ मा गत हप्ता लागेको डढेलो प्रभावितहरुको सहयोगार्थ एनआरएनएको अग्रसरतामा साउथ अष्ट्रेलियामा च्यारिटी डिनर कार्यक्रमको आयोजना गरिने भएको हो । कार्यक्रम ४ जनवरी शनिवारका दिन साँझ ५:३० बजे फ्रेस चुल्हो रेष्टुरेन्टमा हुने आयोजक संस्थाले बताएको छ । कार्यक्रमको प्रवेश शुल्क ३० डलर रहने छ । डिनरबाट संकलित रकमबाट फ्रेस चुल्हो रेष्टुरेन्टले आफ्नो खर्च कटाएर सबै रकम डढेलो पीडितको सहयोगार्थ आयोजक संस्थालाई दिने बताएको छ । 

आयोजक एनआरएनए साउथ अष्ट्रेलियाकि उप संयोजक सन्तोषी गौतमले आफुहरुले ५ हजार डलर संकलन गर्ने लक्ष लिएको र उक्त रकम साउथ अष्ट्रेलिया सरकारको खातामा नै जम्मा हुने नेपाल अष्ट्रेलिया समाचारलाई बताइन । “हामीले केही पाएको समुदायलाई पर्दा सहयोग गर्नै पर्यो । यसै त हामी नेपाली ठूलो छाती भएको भनेर चिनिन्छौं ।” उनले थपिन । 

एनआरएनएले संभव भएसम्म सबैलाई डिनर कार्यक्रममा सहभागीताका लागी आब्ह्वान गरेको छ । 

Advertisements
Advertisements

Leave a Reply