अष्ट्रेलियाका नेपालीले ‘डढेलो पीडित’ लाई गरे २० हजार डलर सहयोग

मिलन दाहाल- अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाइ बसेका नेपालीहरुले गत हप्ता न्यु साउथ वेल्समा लागेको डढेलो पीडितलाई २० हजार डलर सहयोग गरेका छन ।न्यु साउथ वेल्समा डढेलो शुरु भएको दिन ( १२ नोभेम्बर) बाट १० हजार डलर सहयोग संकलन गर्ने लक्ष्यका साथ नेपाली समुदायमा सहयोग आव्ह्वान गरिएकोमा १ हप्तामै २० हजार डलर संकलन भएको थियो । 

नेपाली समुदायको तर्फबाट प्रदान गरिएको सहयोगको चेक लिदै न्यु साउथ वेल्स रुरल फायर सर्भिसका प्रमुख सेन फिच्सिमोन्सले नेपाली समुदायलाई धन्यवाद दिदै उक्त रकमले न्यु साउथ वेल्सका २ हजार बढी कर्मचारीहरुलाई निकै उत्साहित बनाउने बताए । उनले सहयोग रकम उपकरण खरिद, विविध कार्यक्रम र समुदाय सेवामा खर्चिने बताए ।

सहयोग रकम हस्तान्तरण गर्दै गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले नेपालमा भूकम्प जाँदा सहयोग गर्ने अष्ट्रेलियन मित्रहरुलाई समयोग गर्ने यो सुनौलो अवशरको सदुपयोग गरिएको बताए । 

प्राय डढेलो लागिरहने अष्ट्रेलियाको फायर सर्भिस विश्वकै सबैभन्दा ठुलो फायर सर्भिस हो । अष्ट्रेलियन फायर सर्भिसमा अष्ट्रेलियाभर ७२ हजार बढी स्वयंसेवकहरु रहेका छन् । 

Leave a Reply