अष्ट्रेलियाको नागरिकता लिनेहरुको संख्या ८० प्रतिशतले बढ्यो

१५ सेप्टेम्बर २०१९, सिड्नी- अष्ट्रेलियाको नागरिकताप्रति पछिल्लो समयमा बिदेशीहरुको आकर्षण बढेको छ । अघिल्लो बर्षको तुलनामा सन २०१८ मा ८० प्रतिशतले बढेको तथ्याकंले देखाएको छ ।  अष्ट्रेलियाका आप्रवास मन्त्री डेभिड कोलेमनले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । 

त्यसो त पछिल्लो समयमा अष्ट्रेलियाको नागरिकता प्रमाणिकिकरण चाडो हुनथालेको आवेदकहरुको अनुभव छ । क्यानवेराबाट नागरिकता लागी आवेदन दिएकि गायत्रि सेठले आवेदन दिएको तीन महिनाभन्दा कम समयमा आफुले अष्ट्रेलियाको नागरिकता प्राप्त गरेको अनुभव एसबिएस हिन्दीलाई सुनाएकि छन । गायत्री आफुले आवश्यक पर्ने सबै कागजातका साथ आबेदन दिएका कारण आफुले चाँडो आवेदन चाँडो प्रमाणिकरण भएको हुनसक्ने बताउछिन । सुचना-प्रविधि क्षेत्रमा काम गर्ने गायत्री आफ्नो कार्य क्षेत्रमा अष्ट्रेलियन नागरिकताको भूमिका अहम हुने बताउछिन । 

सन् २०१७-१८ मा जम्मा ८१ हजारले मात्र अष्ट्रेलियाको नागरिकता प्राप्त गरेकोमा सन् २०१८-१९ मा १ लाख ४५ हजारले अष्ट्रेलियन नागरिकता प्राप्त गरेका छन् । अष्ट्रेलियन स्थायी बसोबासमा कडाई गरिरहेको अष्ट्रेलियन सरकारले नागरिकतामा भने उदार बनेको छ । 

अष्ट्रेलियाका आप्रवास मन्त्री डेभिड कोलेमनले आफुले नागरिकता प्राप्त गर्ने प्रणालीलाई छिटोछरितो बनाउन बिगत एक बर्षदेखी काम गरिरहेको बताएका छन । 
“हामीले नागरिकता प्रणालीमा सुधार गर्न ९० लाख अष्ट्रेलियन डलरभन्दा बढी खर्च गरेका छौं र उक्त लगानीको प्रतिफल एक बर्षमै देखिएको छ ।” कोलेमनले थपे । 

नागरिकताला लागी आवेदन दिएर कुर्नेहरुको संख्यापनि घटेको छ । मे ३१ सम्म २ लाख २१ हजार कुर्ने सुचीमा रहेकोमा जुलाई ३१ सम्ममा उक्त संख्या १ लाख ९८ हजारमा झरेको छ । 

Leave a Reply