अष्ट्रेलियामा अर्का एक नेपालीको मृत्यु

११ जनवरी २०१९, सिड्नी- अष्ट्रेलियामा एकपछी अर्को गर्दै नेपालीहरुको मृत्युको खबर आइरहेको छ । सिड्नीमा एक युवती, एडिलेडमा एक युवकको मृत्यु, आल्वरीमा एक विद्यार्थी बेपत्तापछी न्यु साउथ वेल्समा एकजना कार दुर्घटनामा मृत्यु भएको खवर छ । न्यु साउथ वेल्स राज्यअन्तरगतकाे ओलङ्गन भन्ने ठउँमा सडक दुर्घटनामा परि एक नेपाली युवककाे मृत्यु भएकाे  हो।

बिहिबार साँझ नेपाली युवकले चलाइरहेको कार सिड्नीबाट दक्षिणी भेगमा पर्ने प्रिन्सेस राजमार्गमा राेकिराखेकाे ट्रकमा ठाेकिएर दुर्घटना भएकाे स्थानिय संचारमाध्यमहरुले जनाएकाे छ । चालककाे घटनास्थलमै मृत्यु भएकाे थियाे । घटना भएकाे स्थानमा हुस्सु लागेकाले सडकमा राेकेकाे ट्रक नदेख्दा दुर्घटना भएकाे हुनसक्ने आशंका गरिएको छ ।

दुर्घटनामा ज्यान गुमाउने चितवनकाे ३५ वर्षिय युवक रहेकाे गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले पुष्टी गरे । मृतककाे एक छाेरी र श्रीमति छन् । ओलङ्गनमा बस्ने उनी ४ वर्षअघि अष्ट्रेलिया आएका थिए । मृतककाे शव ओलङ्गन अस्पतालमा राखिएकाे बुझिएको छ ।

Leave a Reply