एडिलेड हसांए हरिबंशले, कार्यक्रम भब्यताका साथ सम्पन्न

दर्शक श्रोता नै मेरा भगवान: आचार्य

२९ अक्टोवर २०१८, एडिलेड- आइतवार सांझ एडिलेड शहरमा रहेको ‘द फ्याक्ट्रि’ को हल दर्शक- श्रोताहरुले खचाखच भरिएको थियो । उपस्थितहरु ब्यग्रताका साथ कसैको प्रतिक्षा गरिरहेका थिए । ति सबैका प्रतिक्षाका पात्र थिए नेपालका लोकप्रिय हांस्यकलाकार तथा समाजसेवी हरिबंश आचार्य । उनका निकै लामा व्यावसायिक जोडी मदनकृष्ण श्रेष्ठबिना बिरलै कार्यक्रमहरुमा उपस्थिति जनाउने आचार्य छोराको ग्र्याजुएसन सेरेमोनीका लागी श्रीमति रमीलाका साथ अष्ट्रेलिया आएका हुन ।

आफुलाई शुन्यबाट बर्तमानको अवस्थासम्म पुर्याउन दर्शक श्रोताहरुको प्रेमनै अहम भएका कारण दर्शक श्रोताहरु आफ्ना भगवान भएको बताइरहदा उपस्थितहरु निकै भावुक भएका थिए । पठाइमा कमजोर भएका कारण आफ्नो स्कुले जीवनमा क्लासरुमबाट बितृष्णा भइ चलचित्र हेर्न जानेगरेको कुरालाई आचार्यले निकै हाँस्यास्पद तरिकाबाट प्रस्तुत गरिरहदा उपस्थितहरुले निकै मजा लिएका थिए । त्यसपछी उनले जड्याहां र उनकि श्रीमतिबिचको सम्बाद प्रस्तुत गरिरहदा दर्शकहरु पेट नमिचि रहन सकेनन् । कार्यक्रममा आचार्यले आफुले लेखेको एक कबिता सुनाए भने उनका निकै चर्चित गितहरु ‘हाम्री आमा साह्रै नै बाठी छन्….” र “साझा बसमा जो पनि चढ्दछन….” गाएर मनोरञ्जन गराएका थिए ।

एडिलेडमा हुर्किरहेका नेपाली वालवालिकाहरुलाई नेपाल र नेपालीसम्बन्धी ज्ञान दिलाउने नेपाली पाठशालाको अग्रशरतामा एडिलेडमा रहेको नेपाली बाणिज्यदुतावास र नेपाली संस्थाहरु एडिलेड नेपाली समाज, अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) साउथ अष्ट्रेलिया, एडिलेड नेपाली क्रिकेट एसोसिएसन, एडिलेड खुकुरी फुटबल क्लब, एडिलेड नेपाल, नेप्लिज नर्सेस एण्ड मिड्वाइफ सोसाइटि, फुन्सा, नेपाली भजनकिर्तन समुह, ज्ञानगुन चौतारीलगायतका संघसस्थाको आयोजनामा भएको कार्यक्रमको प्रवर्दन गैरआवाशिय नेपाली संघ साउथ अष्ट्रेलियाले गरेको थियो ।

कार्यक्रमबाट संकलन भएको सम्पुर्ण रकम मानव सेवा आश्रम र बोटल फर स्कुलका लागी जाने आयोजकका तर्फबाट सुरेन निरौलाले जानकारी दिए । यसैगरी कार्यक्रम संयोजन गरेका कपिल पाण्डेले ज्ञानगुन चौतारीको स्थापनाको उदेश्यबारे प्रकाश पार्दै कार्यक्रममा उपस्थिति जनाउने सबैलाई धन्यवाद दिए । कार्यक्रममा साउथ अष्ट्रेलियाका लागी नेपाली वाणिज्यदुत दीपक धमला, इनास ग्लोवल उपाध्यक्ष रामचन्द्र थापा, एनआरएन आइसीसी सदस्य गोकुल घिमिरेलगायतको उपस्थिति थियो भने कार्यक्रमको संचालन प्रदिप निरौलाले गरेका थिए ।

Advertisements

Leave a Reply