भारतले बुद्द जन्मायो: भारतीय प्रम मोदी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको लुम्बिनीले गौतम दिएको र भारतको बोधगयाले बुद्ध दिएको बताएका छन् । शुक्रबार काठमाडौको पशुपतिनाथस्थित नेपाल भारतमैत्री धर्मशालाको संयुक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री मोदीले काठमाडौं पशुपतिनाथको शहर भएपनि बौद्धका अनेक स्थानबाट घेरिएको र एकदमै अन्योन्याश्रित सम्बन्ध विकास भएकोप्रति खुसी समेत व्यक्त गरे । प्रधानमन्त्री मोदीले भने, ‘नेपालको लुम्बिनीले गौतम दियो भारतको बोधगयाले बुद्ध दियो । पशुपतिनाथको यो शहर वौद्धको अनेक स्थानबाट घेरिएका छन् । यो एकदम जोडिएको छ, अन्यौन्याश्रित रहेको छ ।’ 

प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच समय, दूरी र कठिन मार्गले पनि सम्बन्धमा बाधा पार्न नसकेको बताउँदै यो सम्बन्ध दिर्घकालीन रुपमा रहनुपर्ने बताए । उनले भने– ‘कन्यापुरी र काठमाण्डौको दुरी हजारौ किमी रहेको छ तर तमिलनाडुमा अहिले पनि पशुपतिको मन्दिरको स्थान रहेको छ । काशी र काठमाण्डौलाई बाबा विश्वनाथ र पशुपतिनाथले जोड्छ, म त सोमनाथको भूमिमा जन्मेको हुँ, अब सोमनाथबाट विश्वनाथ तथा पशुपतिनाथलाई शिवले जोडेको छ ।’ प्रधानमन्त्री मोदीले अयोध्यालाई जनकपुरले जोडेको समेत बताए ।

उनले काठमाडौं र दिल्लीबीच मात्र सम्बन्ध राम्रो भएर नहुने जनता–जनताबीचको सम्बन्ध समेत राम्रो हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीहरुबीच सदियौं पुरानो सम्बन्ध छ । तर दुनियाँको कुनैपनि मुलुकहरुबीचको सम्बन्ध तबसम्म दिर्घकालीन हुँदैन जबसम्म जनता–जनता बीचको सम्बन्ध राम्रो हुँदैन, काठमाण्डौं र दिल्ली बीचमात्र सम्बन्ध राम्रो भएर केही हुँदैन ।’

उनले जीवनमा एकपटक पशुपतिनाथको दर्शन गर्न आउनैपर्ने बताउँदै शिवभक्तको मनमा सँधै त्यो इच्छा रहिरहने समेत बताए । त्यसैले पनि आफुले केही समयअघि नेपालका तीन धार्मिकस्थल पशुपतिनाथ, मुक्तिनाथ र जनकपुर पुगेको दाबी गरे ।  उनले भारतको विकासमा नेपालीहरुको ठूलो भूमिका रहेको समेत दाबी गर्दै भने, ‘त्यसैले हरेक भारतीयहरुलाई नेपालमा राजनीतिक स्थीरता रहेकोमा खुसी लागेको छ । मित्रको रुपमा भारतको सदभावना र सहयोग सधैं तपाईहरुसँग रहनेछ ।’

उनले भारत नेपाल मैत्री धर्माशाला एक भवन र कुनै यात्रीहरुको लागि निवासस्थल मात्र नभई दुबै देशका जनताको मनमा नेपाल र भारतबीचको मित्रता गुन्जिने स्थान भएको बताए । उनले भने–‘यहाँबाट जो घर फर्किन्छ त्यो मनमा गुन्जिरहन्छ ।’

प्रधानमन्त्री मोदीले धार्मिक पर्यटनको विकास गर्न सके यसले आर्थिक विकासमा टेवा पुर्याउने बताए ।

Advertisements

Leave a Reply