११ अगष्ट २०१७, काठमाण्डौ (मकर श्रेष्ठ)- प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान सरोकारवाला सहित बसेको बैठकमा केसीको माग पुरा गर्न मेडिकल कलेज सम्बन्धन दिन विधेयकमा व्यवस्था भएको मादपण्ड पूरा गर्नु पर्नेमा सहमति जुटेको छ ।
विधेयकको दफा १३ मा सम्बन्धन लिन स्वास्थ्य मन्त्रालय र आयोगले तोकेको मापदण्ड पुरा गर्नु पर्ने, आफ्नै अस्पताल पूर्ण रुपमा सञ्चालन गर्नु पर्ने व्यवस्था छ । सरोकारवाला सहितको बैठकले विधेयकले व्यवस्था गरेको आयोग गठन गरेपछि उसले बनाएको नयाँ मापदण्ड अनुसार मात्रै नयाँ मेडिकल कलेजले सम्बन्धन पाउनेछ ।
त्यस्तै कार्यदलले अन्तिम रुप दिएको विधेयकमा पूर्ण रुपमा सञ्चालन भएको अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न दिन सकिने व्यवस्था थियो । पछिल्लो सहमति अनुसार कम्तीमा दुई वर्ष अस्पताल सञ्चालन भएपछि मात्रै मेडिकल कलेजको सम्बन्धन दिन सकिने सम्झौता भएको छ । केसीले तीन वर्ष अस्पताल सञ्चालन गरेपछि मात्रै कलेजको सम्बन्धन दिनु पर्ने माग राखेका थिए ।
विधेयकमा भएको व्यवस्था डा. केसी पक्षले सहमति जनाएकोले आजै अनसन तोडिन सक्ने बैठकमा एक सहभागी बताए । ‘विधेयकमा सहमति भएपनि विश्वविद्यालय सम्बन्धी केसीले राखेको माग पुरा भएको छैन,’ ती सहभागीले भने ।
बैठकमा महिला बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिका सभापति, रञ्जु झा, विधेयकको प्रतिवेदन तयार गर्ने कार्यदलका सदस्यहरु, माथेमा आयोगका संयोजक केदारभक्त माथेमा, विधेयक मस्यौदा कार्यदलका उपाध्यक्ष भगवान कोइराला र केसीको वार्ता समितिका सदस्य पनि सहभागी थिए ।
प्रधानमन्त्री कार्यालयमा भएको सहमति अनुसार समितिले विधेयक टुङग्याउन तीन बजे बैठक राखेको छ । कार्यदलले शुक्रबार समितिलाई प्रतिवेदन बुझाएको थियो । शुक्रबार नै पारित गर्ने तयारी भएपनि सांसदहरुले अध्ययन गर्न समय माग गरेपछि रोकिएको थियो ।
(कान्तिपुर दैनिकबाट)